उनीहरुले उपप्रधानमन्त्री एवं परराष्टमन्त्री सुजाता कोइरालासंगको भेटमा त्यस्तो सुझाव दिएका हुन्।
तर मन्त्री कोइरालाले भने सबैभन्दा पहिले पूर्व विद्रोही एकीकृत माओवादी नागरिक दलमा रुपान्तरण हुनुपर्ने भन्ने सरकारी अडान दोहोर्याएकी थिइन्।
उपप्रधान एवं परराष्ट्रमन्त्री कोइरालाले आफ्नो निवास मण्डिखटारमा सोमबार बिहान युरोपेली संघ सम्बद्ध देशहरु, संयक्त राज्य अमेरिका, क्यानाडा र अष्ट्रेलियाका राजदूतहरुसंग भेटघाट गरेकी थिइन्।
चासो
भेटमा राजदूतहरुले नेपालका सामु राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुको विकल्प नभएको आशय प्रकट गरेको मन्त्री कोइरालाले बताइन्।
“उहाँहरुले दलहरुबीच संवाद समेत किन हुन नसकेको, वार्ता किन चटक्कै छोडेको भनेर प्रश्न गर्नु भयो।”
पश्चिमा राजदूतहरुले त्यस्तो सुझाव दिएपनि कोइरालाले चाँही सबै भन्दा पहिले माओवादीका सेना राखिएका अस्थायी शिविरहरु खाली गराउने वातावरण बन्नुपर्ने सरकारको धारणा राजदूतहरु समक्ष राखेकी थिइन्।
“उनीहरुले हतियार बुझाएका छैनन्, क्यान्टोनमेन्ट खाली नगरी कसरी अगाडि बढ्न सकिन्छ?”
भेटमा सहभागी अमेरिकी राजदूत स्कट डेलिसीले संवाददाताहरुसंग कुरा गर्दै, दलहरुबीच संवाद र सहकार्य हुनुपर्नेमा जोड दिए।
‘नेपालीको हार’
कुनै एउटा दलले मात्र शान्ति र संविधान निर्माण गर्न नसक्ने बताउदै उनले दलहरुलाई मिलेर गम्भीर संवाद थाल्न सुझाव दिए।
उनले भने, “कस्ले जित्छ र कस्ले हार्छ भन्दा पनि शान्ति भएन भने नेपालीले हार्ने छन्।”
एकीकृत माओवादीले थालेको आन्दोलन संगसंगै नेपालमा हाल जारी शान्ति प्रक्रियाबारे विदेशी राष्ट्रहरुको चिन्ता र चासो बढेको देखिएको बेला, दुई दिनअघि मन्त्री कोइरालाले नेपालस्थित एसियाली देशका राजदूतहरुसंग भेटघाट गरेकी थिइन्।



