प्रधानमन्त्रीद्वारा संविधानसभाको म्याद थपका लागि गरिएका शर्त अस्वीकार्य

-गणेश चुदाली, हाल काठमान्डौ

 

प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थपका लागि कुनै पनि शर्त स्वीकार्न आफू तयार नभएको बताउनुभएको छ । बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।


भेटका अवसरमा प्रधानमन्त्रीले राजनीतिक बेमेलका कारण निर्धारित समयमा संविधान निर्माण हुन नसकेका कारण अब दलहरुबीच सहमति कायम गरी अघि बढ्नुपर्नेमा आफूले जोड दिनुभयो । लोकतन्त्रमा िहंसा बलप्रयोग र जबर्जस्ती स्वीकार्य हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्रीले दलहरु बीच हुने सहमति र त्यसबाट निस्किने निष्कर्षलाई स्वीकार्न भने आफू तयार रहेको बताउनुभयो ।

 

बेलायती राज्यमन्त्री डंकनले बेलायत र नेपालका बीचमा लामो सम्बन्ध रहिआएको चर्चा गर्दै नेपालको विकासलाई महत्व दिँदै आएकाले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले पहिलो विदेश भ्रमणमा नेपाललाई छानेको जानकारी गराउनुभयो । आफ्नो मुलुकले नेपालमा शान्ति स्थापना र नयाँ संविधान निर्माण भएर राजनीतिक स्थिरता स्थापित भएको हेर्न चाहेको चर्चा गर्दै उहाँले त्यसका लागि नेपालका राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।


यसैगरी प्रधानमन्त्री नेपालसँग आजै युरोपेली संघका सांसदहरुको प्रतिनिधिमण्डलले पनि भेटवार्ता गर्दैछ ।