संविधानसभामा प्रतिनिधित्व गर्ने साना १२ राजनीतिक दल सम्मिलित संसदीय दलको बैठकले संविधानसभाको म्याद थप्ने विधेयकमा प्रस्तावमा साथ दिन एकीकृत नेकपा -माओवादी) सँग आग्रह गर्यो ।
बिहीबार सिंहदरबारस्थित नेकपा -संयुक्त)को संसदीय कार्यालयमा बसेको सो बैठकले हालसम्म सहमति नभएका विषयमा आपसी विश्वासका साथ सहमति कायम गर्दै आगामी दुई/तीन हप्ताभित्र समयसीमा कायम गरी संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।
यसैगरी सो बैठकले हालसम्म गरिएका सम्झौतालाई अब बन्ने संयुक्त सरकारले कार्यान्वयन गर्नुपर्ने पनि निर्णय गरेको छ ।
यसअघि सो बैठकमा नेपाली काँग्रेस, नेकपा -एमाले), मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रतिनिधिसँग पनि संविधानसभाको म्याद थप र दिगो शान्ति स्थापना गरी मुलुकलाई राजनीतिक निकास दिने विषयमा छलफल भएको चुरेभावर एकता पार्टीका अध्यक्ष एवम् सभासद् केशव मैनालीले जानकारी दिनुभयो ।
सो बैठकमा नेकपा -माले), राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, चुरेभावर एकता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, समाजवादी प्रजातन्त्र जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी -आ), दलित जनजाति पार्टीलगायतका प्रतिनिधिको सहभागिता थियो ।