संविधानसभाको दुई वर्षे कार्यकाल समाप्त हुने अन्तिम दिन शुक्रबार व्यवस्थापिका संसदको लागि अत्यन्त व्यस्त

संविधानसभाको म्याद थप्ने विषयमा प्रमुख दलहरुबीच सहमति बन्न नसकेको भएपनि शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठकबाट संविधानसभाको कार्यकाल थप्नको निम्ति आवश्यक प्रक्रियाकालागि सबै तयारी पुरा गरेको एकजना अधिकारीले बताएका छन्।

 

संविधानसभाको दुई वर्षे कार्यकाल समाप्त हुने अन्तिम दिन शुक्रबार व्यवस्थापिका संसदको लागि अत्यन्त व्यस्त दिन हुनेछ।

किनभने शुक्रबार नै संविधानसभाको म्याद बढाउनको निम्ति सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि र माओवादीले दर्ता गराएको विरोध प्रस्तावमाथि छलफल र मतदान हुने कार्यक्रम छ।


शुक्रबार संविधानसभाको म्याद सकिन केही घण्टा मात्र बाँकी रहँदा व्यवस्थापिका संसदको बैठक विहान आठ बजे शुरु हुने कार्यक्रम रहेको छ।


संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार संविधानसभाको म्याद थप्नको निम्ति सरकारले दर्ता गराएको अन्तरिम संविधान आठौं संशोधन विधेयक सदनमा प्रस्तुत हुनुअघि, प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले दर्ता गराएको विरोधको प्रस्तावको छिनोफानो हुनेछ।