संविधानसभाको समयावधी सकिन साँढे १२ घण्टा बाँकी हुँदा माओवादीले सरकारी विद्येयकको विपक्ष मत दिने निर्णय

काठमाडौ, जेष्ठ १४ – बीचमा केही आश्चर्य जनक घट्नाक्रम विकास नभएमा संविधानसभाको म्याद नथपिने भएको छ । संविधानसभाको समयावधी सकिन साँढे १२ घण्टा बाँकी हुँदा माओवादीले सरकारी विद्येयकको विपक्ष मत दिने निर्णय गरेको हो ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको माओवादी स्थायी समितिको बैठकले संविधानसभा म्याद थप्नका लागि सरकारले संसदमा दर्ता गरेको विद्येयकका विरुद्धमा दर्ता गरेको सूचनाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

विरोध सूचनाको पक्षमा मतदान गर्ने निर्णयले माओवादीलाई विद्येयकको विपक्षका उभ्याएको छ । माओवादीले सरकार र सत्तासिन दलहरु शान्ति र संविधानको पक्षमा राष्ट्रिय सहमतिमा आउन नमानेकाले विपक्षमा मत दिनुपरेको बताएको छ ।

माओवादीले विपक्षमा मतदान गर्ने भएपछि संविधानसभाको म्याद थपको विद्येयकले संसदमा दुई तिहाइ बहुमत प्राप्त गर्ने छैन । अव आजै राती १२ बजेपछि संविधानसभाको विघटन हुनेछ ।

सरकारले संसदमा एक बर्ष म्याद थपका लागि प्रस्तुत गरेको बिद्येयकको बिरोध सूचना माओवादीले केही दिनअघि दर्ता गराएको थियो । आज सुरु हुने संसदको बैठकमा सुरुमा उक्त विरोध सूचनाका सम्बन्धमा मत विभाजन गरिने छ ।

विरोध सूचनाको पक्षमा बहुमत नपुर्‍याए सरकारी विद्येयक प्रकृया अघि बढ्ने छ । तर, माओवादीसंग बहुमत नभएकोले सरकारी उक्त सूचना अल्पमतमा पर्ने निश्चत जस्तै छ । बिरोध सूचनामा माओवादीले राष्ट्रिय सहमतिको पहल नगरिकन सरकारले एक तर्फीरुपमा विद्येयक असफल बनाउने उद्देश्यले संसदमा ल्याएको उल्लेख गरिएको छ ।

उक्त सूचना अल्पमतमा परेपछि सरकारी बिद्येयकको प्रकृया अघि बढ्ने छ । यसबीचमा कुनै आश्चर्यजनक घट्नाक्रम विकास नभएमा माओवादीले विद्येयक विपक्षमा मतदान गर्नेछ । माओवादी विना दुई तिहाई बहुमत नपुग्ने हुँदा संविधान संशोधन विद्येयक पारित हुने छैन ।