विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टॆकेको दिन आज, सगरमाथा दिवस विभिन्न कार्यक्रम साथ मनाइँदै

– गणेश चुदाली अर्घाखाँची हाल काठमान्डौ


आज सगरमाथा दिवस । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टॆकेको दिन आज अर्थात मे २९ ५७ वर्ष पुगेको छ । यस अवसरमा तेस्रो अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रमका साथ मनाइँदैछ । यसै अवसरमा बिहान पर्यटन बोर्डले र्याली गर्दैछ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर-एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर आफ्नो आरोहण यात्रामा सफलता प्राप्त गरेको दिन हो ।

 

यसै अवसरमा मे २९ अर्थात आजको दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाउने गरिएको छ । ५७ वर्षको आरोहणको अवधिमा करिब चार हजार पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पुरा गरिसकेका छन् भने नयाँ-नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् ।

 

साइकल यात्राबाट विश्वका १५० देशको भ्रमण गर्नुभएका पुष्कर शाहले यही जेठ ३ गते सगरमाथा आरोहण गरी एउटा विश्व र्कीतिमान थप्नुभयो । सगरमाथाको चुचुरोमा १५० देशको झण्डा फहर् याएर विश्वकै लागि शान्ति र सद्भावको सन्देश दिन शाह सफल हुनुभयो ।