– चाँदनी हमाल,
चितवन, १६ जेठ – एकीकृत माओवादीका कार्यकर्ताले काठमाडौवाट चितवनका लागि नागरिक पत्रिका बोकेर आउँदै गरेको सवारी साधनमा आगजनी गरेर स्वतन्त्र प्रेसमाथि आक्रमणको गरेको विरोधमा चितवनका संपुर्ण रेडियोहरुले आज विहान १ मिनेट आफ्नो प्रसारण बन्द गरेका छन्।
स्थानीय पत्र पत्रिकाले आफ्नो सम्पादकीय खाली राखेर विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ चितवनको आव्हानमा यहाँका सातवटा रेडियोहरुले विहान ७ वजेदेखि आफ्नो प्रशारण १ मिनेट बन्द गरेका हुन्।
चितवनका छापा संचारमाध्यामहरुले प्रेश माथिको आक्रमणको र मानिसमा ज्यादती भएको विरोधमा सम्पादकीय खाली गरेका हुन्। हिजो विहान चितवनको रामनगरमा सवारी चालक र एक वच्चा गाडिभित्रै राखेर गाडीमा आगजनी गरिएको थियो।
गत २ दिन अघि नागरिक दैनिकमा प्रकाशित डा भक्तमान श्रेष्ठ माओवादीको कव्जामा भन्ने समाचार प्रकाशित भएको थियो। सो को विरोधमा विहिवार माओवादीले देशैभरि नागरिक पत्रिका जलाएको थियो।
पत्रकार महासंघले वाइसिएल कार्यकर्ता भानु न्यौपाने सहित आएको एक समुहले आगजनी गरेको जनाएको छ। हिजो नागरिक दैनिक बोकेको गाडीमा मान्छे ओर्लनै नदिई आगजनी गरिएको थियो। सो घटना प्रेस विरोधी मात्र नभई मानवता विरोधी समेत भएको भन्दै नेपाल पत्रकार महासंघ चितवनले भर्त्सना समेत गरेको छ। महासंघले दोषिलाई पक्राउ गरी कडा कारवाही गर्न समेत माग गरेको छ। महासंघले एकीकृत माओवादीलाई आफ्नो धारणा सार्वजनिक गर्न समेत माग गरेको छ।
यस्तै चितवनका झण्डै एकदर्जन मानवअधिकार संघसंगठनले पनि संयुक्त विज्ञप्ती जारी गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ। राष्ट्रिय जनमोर्चा चितवनले पनि मान्छे भित्रै राखेर गरिएको आगजनीको भत्सना गर्दै कडा कारवाहीको माग गरेको छ।
नेपाली काँग्रेस चितवनका सभापति रामकृष्ण घिमिरेले यस्ता त्रियाकलापवाट माओवादीको व्यवहार झन् उदाङ्गो हुँदै गएको बताउनु भयो। यसैबीच चितवनका राजनीतिक दलहरुले आज चितवन बन्द गरेका छन्। चितवनको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको खोजीका लागि दवाव दिन चितवनका संपुर्ण राजनीतिक दल तथा भक्तमान बचाउ अभियानले संयुक्त रुपमा चितवन वन्दको घोषणा गरेको हो्। वेपत्ता भएको १३ दिन पुग्दा पनि अवस्था सार्वजनीक नभएको भन्दै प्रशासनलाई दवाव दिन वन्दको आव्हान गरिएको हो।
यसैगरी तनहु संवाददाता समुन्द्र पौडेलका अनुसार माओवादी विरुद्ध समाचार प्रकाशन गरेको भन्दै एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले नागरिक दैनिक र सहप्रकाशन रिपब्लिका दैनिक सहित पत्रिका बोक्ने सवारी साधन जलाएको कार्य प्रति प्रेस चौतारी तनहुँ शाखाले भर्त्सना गरेको छ। जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।
जारी विज्ञप्तीमा प्रकाशित समाचार प्रति असहमत भएमा समाचार खण्डन गर्ने अधिकार हुँदा हुँदै आगजनी र तोडफोडमा उत्रनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको उल्लेख छ। विज्ञप्तीमा एकिकृत नेकपा माओवादीका जिम्मेबार नेताहरुको संलग्नतामा गरिएका यस खाले अराजक र उदण्ड क्रियाकलाप प्रति घोर निन्दा र भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ। प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक क्रियाकलाप नदोहोर्याउन समेत प्रेस चौतारीले एकिकृत नेकपा माओवादीलाई चेतावनी दिएको छ।
– नागरिक पत्रिका