पूर्वयूवराज पारस शाह आफ्ना छोराछोरी, ५ जना सिंगापुरे साथीसहित पोखरामा

मनोज अधिकारी,

 

पोखरा, जेठ १६ – पूर्वयूवराज पारस शाह आईतबार छोराछोरी लिएर पोखरा भ्रमणमा आएका छन्। बिहान पौने १० फिस्टेल एयरको हेलिकप्टरमा आएका उनी फिस्टेल लजमा बसेका छन्। स्रोतकाअनुसार पारस आफ्ना ५ जना सिंगापुरे साथीसहित पोखरा घुम्न आएका हुन्। उनी एक छोरा र एक छोरीसहित एउटा हेलिकप्टरमा आएका थिए भने उनका साथीहरु फिस्टेलकै अर्कौ हेलिकप्टरमा आएका थिए।

 

पारस सोमबार बिहान ती साथीलाई लिएर मुस्ताङ घुम्न जाने कार्यक्रम रहेको स्रोतको भनाई छ।

कसैलाई जानकारी नदिई पोखरा आईपुगेका पारसका अंगरक्षकहरु भने शनिबार नै पोखरा आईसकेका थिए। बर्दीमा रहेका सशस्त्र प्रहरीका डीएसपी र सादा पोशाकका केही सैनिक अधिकारी सहितको टोली पारसलाई लिन पोखरा विमानस्थल पुगेको थियो। स्रोतकाअनुसार पारसले पोखराका केही पर्यटकीयस्थलमा आफ्ना साथीहरुलाई भ्रमण गराउने छन् भने फेवातालमा डुंगा सयर गर्ने छन्। यसअघि पनि पोखरा आउँदा पारसले सुटुक्क फेवा तालमा डुंगा सयर गर्ने गरेका थिए। 

एक साताअघि पनि पूर्व युवराज्ञी हिमाली पोखरा आएर एकरात बसेकी थिइन्।