उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि : हाल बुटबल
दलित उत्थान समन्य समिति मोतिपुरले अन्तरजातिय विवाह गर्ने १६ जोडीलाई सोमबार रूपन्देहीको मोतिपुरमा सम्मान गरेको छ । कार्यक्रममा दलित र गैरदलित तथा दलित भित्रका विभिन्न समुदायबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । अन्तरजातिय विवाह गर्नेलाई समुदाय तथा घर परिवारबाटै विस्थापित हुनुपर्ने समस्या अझै रहेकाले उनीहरूलाई हौसाला प्रदान गर्न सम्मान कार्यक्रम गरिएको हो ।
अन्तर जातिय विवाह गर्नेलाई कसैपनि अपहेलना गर्न नहुने बरू प्रोत्साहन गर्नुपर्ने भन्दै कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष पदम बि.क.ले अन्तरजातिय विवाह गर्ने १६ जोडीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पदम बि.क.ले दलित समुदायाई राज्यका हरेक निकायमा अगाडि ल्याउनुपर्ने र त्यसका लागि दलित समुदाय एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भयो ।
त्यस्तै गाविस सचिब मिननाथ शर्माले दलित समुदाय भित्रपनि छुवाछुत रहेकोले पहिला दलित भित्रको छुवाछुट हटाउन पहल गर्नु पर्ने भन्दै त्यसका लागि सचेतना मुलक कार्यक्रम गर्नका लागि गाबिसले पनि सहयोग गर्ने बताउनु भयो । त्यस्तै सोही कार्यक्रममा गाबिसमा १ देखि १० कक्षाका प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई र उच्च शिक्षामा अध्ययन गर्ने १५ जना दलित विद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष श्यामबहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।