काठमाडौ, जेष्ठ २० – सर्वोच्च अदालतले गणतन्त्र दिवसमा घोषणा गरिएको बिभूषण सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
बिभूषण प्रदान गर्ने निर्णय वदर गर्ने माग सहित मंगलबार दायर रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई त्यस्तो आदेश दिएको हो ।
इन्हुरेड इन्टरनेशनलको तर्फबाट गोपालकृष्ण सिवाकोटी, श्रीकृष्ण सुवेदी लगायतले दायर गरेको उक्त रिटमा राष्ट्रपतिलाई विपक्षी बनाइएपनि उनको नाममा भने आदेश जारी भएको छैन् ।
रायमाझी आयोगले दोषी ठहर गरिएकालाई पनि बिभूषण प्रदान गरिएको र मन्त्रिपरिषदमा समेत छलफल नगरिएकाले उक्त सरकारी निर्णय अबैधानिक भएको भन्दै खारेजीको माग गर्दै रिट दायर गरिएको हो ।



