चितवनको शक्तिखोरमा रहेका माओवादी लडाकुलाई वैशाख र जेठ महिनाको भत्ता बितरण कार्य सुरु

चितवन – चितवनको शक्तिखोरमा रहेका माओवादी लडाकुलाई वैशाख र जेठ महिनाको भत्ता बितरण कार्य शुक्रबारबाट सुरु गरिएको छ । सो शिविरका ६५६ जनालाई राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)का प्रतिनिधिको रोहवरमा शिविर व्यवस्थापनका कर्मचारीले चेक हस्तान्तरण गरेको शिविर व्यवस्थापन कार्यालयका प्रमुख शरदचन्द्र शर्माले बताउनुभयो ।


प्रतिव्यक्ति मासिक रु ५ हजारका दरले दुई महिनाको रु १० हजार हस्तान्तरण गरिएको हो ।


त्यसअघिको तीन महिनाको रकम वैशाखको पहिलो हप्ता बितरण गरिएको थियो । शक्तिखोरको मुख्य शिविर र पाँच सहायक शिविरमा गरी ३ हजार ९३५ लडाकु प्रमाणीकरण भएका छन् ।


वैशाखको पहिलो हप्ताबाट लडाकुलाई भत्ता दिन सुरु गरिएको हो । त्यसअघि एकमुष्ट रकम शिविरमा दिने गरिन्थ्यो ।
एक हप्ताभित्र सबै लडाकुलाई भत्ता दिइसक्ने शिविर व्यवस्थापन कार्यालय भरतपुरले जनाएको छ ।