भारतीय सीमामा गस्तीमा रहेको प्रहरी र अपरिचित समुहबीच गोली हानाहान

सुनसरी, जेष्ठ २३ – सुनसरी जिल्लाको दक्षिणी भारतीय सीमा जोडिएको कप्तानगञ्ज गाविसमा गस्तीमा रहेको प्रहरी र अपरिचित समुहबीच गोली हानाहान भएको छ ।

गएराति पौने १२ बजे प्रहरी चौकी कप्तानगञ्जको प्रहरी टोली सीमाक्षेत्रको गस्तीमा रहेको समयमा एक्कासी तीन राउण्ड गोली फायर भएपछि गस्तीमा रहेको प्रहरीले पनि जवाफी दुई राउण्ड गोली चलाएको प्रहरी नायव निरीक्षक बद्री तामाङले जानकारी दिए ।

सीमाक्षेत्रमा दिनहुँजसो मोटरसाइकल, गाईवस्तु तथा अरु लुटपाटका घटना बढेपछि प्रहरीले सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त राख्न गस्ती बढाएको छ ।

गोली चलाउनेको पहिचान भने अझै खुल्न नसकेको सुनसरीका प्रहरी प्रमुख भूपाल भण्डारीले बताए । तर उनीहरु चोरी तस्करीमा संलग्न रहेको प्रहरीको अनुमान छ ।

गोली चलेपछि ती मानिसहरु कप्तानगञ्जको वडा-१ र २ बीचमा पर्ने गाउँबाट भारतीय भूमितिर भागेको प्रहरी नायव निरीक्षक तामाङले जानकारी दिए ।