कोशी अञ्चल प्रहरी कार्यालय धरानमा एसएसपी मिङ्मार लामाले पत्रकार सम्मेलन गर्दै उनीहरु किराँत जनवादी वर्कर्स पार्टीको नाममा विभिन्न ठाउमा लुटपाट, आगजनी र प्रहरी चौकी आक्रमणमा संलग्न भएको बताए ।
पक्राउ पर्नेहरुमा विवस विद्रोही समूहको किराँत जनवादी वर्कर्स पार्टीका केन्द्रीय सचिव र सोही पार्टीबाट विभाजित भएका नविन समूहका महासचिव बताउने २९ वर्षिय रविन किराती भनिने विजय राई, सन्देश भनिने बैकल्पिक केन्द्रीय सदस्य २९ वर्षिय पाण्डव राई, सोही पार्टीका लिम्बूवान डिभिजन प्रमुख तथा केन्द्रीय सदस्य रविन र हिमाल उपनामका २८ वर्कर्स हस्तजीत राई रहेका छन् ।
यसैगरी प्रहरीले मिडिया, प्रेम र आनिहाङ खम्बु नाम भएका लिम्बुवान डिभिजनका सह-इन्चार्ज तथा बैकल्पिक केन्द्रीय सदस्य ३१ वर्षिय सुवर्ण राई र नेपाली सेनामा पूर्व सिपाही रहेका विक्रम उपनामका ४० वर्षिय टोपराम राई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले जर्मनीमा बनेको पेस्तोल एक थान, म्यागजिन एक थान, तीन राउण्ड गोली, टाइम बम एक थान, काठ र प्लाष्टिकका नक्कली बन्दुक तथा पेस्तोल, सिम सहितको मोवाइल पाँच थान, कम्व्याट ड्रेस, तार, खुकुरी, बा २ प १२७७ नम्बरको पल्सर मोटरसाइकल एकथान, किरात जनवादी वर्कर्स पार्टीको विधान, संयुक्त जातीय मुक्ती मोर्चाको जनसहयोग रसिद, लेटर प्याड, पार्टीको खाली कार्ड, मगरहाङ नामको झण्डा बरामद गरेको छ ।
पत्रकार सम्मेलनमा एसएसपी लामाले पक्राउ परेका अभियुक्तहरुले यस अघि खोटाङ, झापा र सुनसरीमा अपहरण आगजनी र जवर्जस्ती चन्दा असुलीमा संलग्न भएकाले मुद्धा चलाउने तयारी भइरहेको बताए । पत्रकार सम्मेलनमा आरोपितहरुले संचारकर्मीसमक्ष बोल्न चाहे पनि प्रहरीले अदालतमा मात्र बोल्नु भनेर कुरा राख्न दिएका थिएनन् ।
वर्कर्सका वैकल्पिक केन्द्रीय सदस्य भनिएका पाण्डव राई भने किराँत जनवादी वर्कर्स पार्टी पहिले नै छाडेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लक्ष्मण थारु समूहका केन्द्रीय सदस्य रहेकाले प्रहरीले अनावश्यक आरोप लगाएर फसाउन खोजेको मञ्चका सभासद राजकुमार नाल्बोले बताए ।



