राजधानीको बसुन्धारास्थित इशान नरसिङ होम अगाडि निजी कारमा बम विष्फोट

काठमाडौ, जेष्ठ २५ – राजधानीको बसुन्धारास्थित इशान नरसिङ होम अगाडि मंगलबार विहान सवा सात बजे निजी कारमा बम विष्फोट भएको छ । बा ७ च ५५३९ नम्वरको उक्त  कार  विष्फोटपछि जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घटनामा पाँच जना सामान्य घाइते भएका छन् ।


घाइते हुनेहरुमा नजिकैको साइकल पसले पोटन ठाकुर, बटुवाहरु भरत केसी, नयन प्रसाद सुवेदी र सोमनाथ महतो रहेका छन् । उनीहरुको सामान्य उपचार पछि घर फर्केका छन् ।


घटनाको अनुसन्धानको लागि प्रहरीले कार चालक सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु गाडी चालक दीपक विश्व कर्मा, नविन विष्ट र राजु खत्री छन् ।


गाडी रामबहादुर अधिकारीको रहेको पत्ता लागेको छ । उनले उक्त गाडी चार दिन अघि मात्र ९ लाख ८७ हजार रुपैयाँ किनेर सो रुमबाट किनेको बताइएको छ ।


उनी अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तरगत काठमाडौं स्वरोजगार ट्याक्सि एरिया कमिटिको कोषाध्यक्ष हुन् ।


उक्त कारमा नपड्किएको एउटा सकेट बम फेला परेको थियो । नेपाली सेनाको डिष्पोजल टोलीले उक्त सकेट बम निष्कृय पारेको छ ।


प्रहरीले कारभित्र २०-२० लिटरको दुईवटा जर्किनमा इन्धन रहेको जनाएको छ । कारमा भेटिएको एक संकास्पद बट्टालाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सशस्त्र प्रहरीको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । विष्फोटनको आवाजले नजिकका घरका झ्यालका शिशाहरु समेत फुटेको छ । प्रहरीले कारमा दुई यात्री सवार रहेको र उनीहरु उत्रे लगत्तै घटना भएको जनाएको छ ।


यसैबीच यसअघि नाम नसुनिएको स्वतन्त्र नेपाल पार्टीले संविधानसभाको म्याद थपिएको विरोधमा उक्त विष्फोट गराएको दाबी गरेको छ ।