जेठ १४ गते राति भएको तीन बुँदे सहमति ३३ प्रतिशतमात्र कार्यान्वयन- एमाले अध्यक्ष

काठमाडौं, जेष्ठ २५ – एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते राति भएको तीन बुँदे सहमति ३३ प्रतिशतमात्र कार्यान्वयन भएको बताएका छन् । उनले बाँकी सम्झौता कार्यान्वयन गर्न दलहरुबीच सहमतिको आवश्यकत्ता रहेकोमा जोड दिए ।


मंगलबार बसेको संवैधानिक समितिको बैठकमा एमाले अध्यक्ष खनालले सहमति प्रणालीमा जानुको विकल्प नभएको बताए । उनले अझै पनि दलहरु सहमतिमा पुग्न नसके देश गम्भीर संकटमा फँस्ने चेतावनी दिए ।


बैठकमा बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिका लागि माओवादी लचिलो भए पनि सत्ताधारी दलहरुले वास्ता नगरेको आरोप लगाए । उनले समयमै संविधान जारी गर्न दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।


कांग्रेस नेता कुलबहादुर गुरुङले सहमतिका लागि माओवादीले पहिले भएका सम्झौता पालन गर्नुपर्ने बताए ।