केपी ढुंगाना, नागरिक
काठमाडौँ – प्रहरीले राजधानी मै पहिलो पटक बम बनाउने कारखाना फेला पारेको छ। काठमाडौँको बसुन्धरा डिपार्टमेन्ट स्टोर रहेको घरमा आज राति छापा मार्ने क्रममा रकेट लञ्चरसहितका बमहरु फेला परेका हुन्। सोमबार बसुन्धरास्थित इसानी नर्सिङ होमअगाडि कार बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका विष्णु शाहको बयानको आधारमा प्रहरीले शुक्रबार राति उनी बस्ने गरेको ठाउँमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनी बस्ने गरेको कोठा नजिकै रकेट लञ्चर, बाल्टिन बम, क्यासेट बम, सकेट बम लगायतका विस्फोटक पदार्थ भेटिएको एसएसपी रणबहादुर चन्दले नागरिकन्युजलाई बताए। प्रहरीको बम डिस्पोजल टोलीले राति अबेरसम्म विस्फोटक पदार्थ डिफ्युज गरेको थियो।
शाह सोही डिपार्टमेन्ट स्टोरका कर्मचारी रहेको प्रहरीले बताएको छ।
सोमबार भएको कार विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ वर्षीय शाह लगायत सिन्धुली महादेवस्थानका २८ वर्षका दीपक विश्वकर्मा र बसुन्धरा मै रहेको राजु कोल्ड स्टोरका सञ्चालक वर्ष ३० का राजु खत्रीलाई पनि पक्राउ गरेको थियो।
कार विस्फोटको जिम्मा स्वतन्त्र नेपाल दल नामको यसअघि चर्चामा नआएको दलले लिएको थियो।