जनकपुर नगर क्षेत्रमा पाँच दिनदेखि लगातार चार जनालाई गोली प्रहार गरि हत्या

जनकपुर , जेष्ठ ३० – जनकपुर नगर क्षेत्रमा  पाँच दिनदेखि लगातार चार जनालाई गोली प्रहार गरि हत्या गरिएको छ । राति आठदेखि साढे आठ वजेको बीचमा हुने गोलीप्रहारको घटनामा परी अहिलेसम्म एक चार वर्षीय वालकसहित चार जनाको मृत्यु भई सकेको छ । पछिल्लो पटक शनिवार सवा आठ वजे एक जनालाई गोली प्रहार गरि हत्या गरिएको छ ।

जनकपुर नगरपालिका वडा नं १ वकील टोलस्थित जामुन पंजियारका अन्दाजी ३० वर्षीय छोरा राजकुमार पंजियारमाथि गोली प्रहार गरिएको हो ।

नेपाल यातायात कार्यालय जनकपुरका पूर्व प्रमुख तथा जनकपुर रेल्वेका कामु महाप्रवन्धक जामुन पंजियारका छोरामाथि मोर्चा विरोधी गतिविधिमा संगल्न रहेको आरोप लगाउँदै राजनमुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आक्रमणको जिम्मा लिएको छ ।

मोर्चाका पोलिटव्यूरो सदस्य मनोज मुक्तिले फोन मार्फत घटनाको जिम्मा लिए । जामुन पंजियार रेल्वे तथा यातायात व्यवस्था कार्यालयका प्रमुख हुदा आर्थिक अनियमितता गरेको आरोप पनि उनले लगाएका छन् ।

 अज्ञात हतियारधारीहरुले चलाएको गोली लागि शख्त घाइते भएका चार वर्षीय बालक मोनू भन्ने अमितकुमार कापरको उपचारको क्रममा शनिवार अपरान्ह मृत्यु भएको थियो ।

उनको पारिवारिक श्रोतले दिएको जानकारी अनुसार-पेटमा गोली लागेको मोनूको शुक्रबार अवेर रातिनै शल्यकि्रया गरिएको थियो । तर होस नआएपछि आईसीयुमा राखिएको थियो जहाँ अपरान्ह उसको मृत्यु भएको छ । मोनूलाई सघन उपचारको लागी विपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएको थियो ।

सखुवा महेन्द्रनगर गाविसका सचिव रामपुकार यादवलाई लक्षित गरी अखिल जनतान्त्रिक तराई मोर्चाका कार्यकर्ताहरुले गएराति आठ वजे चलाएको गोली बालक मोनूको पेटमा लागेको थियो । सचिव यादवको जनकपुर ८ स्थित जानकी आँखा अस्पताल भन्दा पश्चिम रहेको घर अगाडीको पसल अगाडी हतियारधारीहरुले गोली प्रहार गरेको थियो ।

यस अघि गत वुधवार राति साढे आठ वजे राजनमुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिल्ला विकास समिति धनुषाका पियन शिवनारायण भण्डारीलाई गोली हानी हत्या गरेको थियो ।

गत सोमवार राति साढे आठवजे अज्ञात हतियारधारीहरुको एक समूहले जग्गा व्यवसायी रामेश्वर साहलाई गोली हानी हत्या गरेको थियो ।

राति आठ देखि साढे आठ वजेको बीचमा जनकपुरमा सुरु भएको श्रृंखलावद्ध गोली प्रहारको घटनाले  जनकपुरवासीलाई भयभीत बनेका छन् । चार वर्षीय बालकको मृत्युको खवरले जनकपुरमा शोकको वातावरण व्याप्त भएको छ । आम नागरिकले असुरक्षित महसूस गर्न थालेका छन् ।

प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल सरुवा भई आए यता आपराधिक घटनामा कमी आएको थियो । झण्डै एक दर्जन हतियारधारी पक्राउ पनि परेका थिए ।   तर पछिल्लो पटक मौलाएको आपराधिक घटनाले प्रहरीको समेत चिन्ता बढाएको छ ।

प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अपराधी पक्राउ गर्न सघन छापामारी चलाइएको बताएका छन् । केही शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरिएको एसपी खनालले बताए ।