मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट मन्त्री तथा सभासद, नेताहरुबीच कुटाकुट

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट मन्त्री तथा सभासद भएका नेताहरु आज बाराको सदरमुकाम कलैयामा कुटाकुट गरेका छन्। फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा निर्माण सहायक मन्त्री हुनुभएका कलावती पाशवान र फोरम लोकतान्त्रिक बाराका सदस्य सुरेश गुप्तालाई बारा निर्वाचन क्षेत्र नं.३ का फोरम लोकतान्त्रिकबाट सभासद भएका प्रमोद गुप्ताले कुटपिट गर्दै दुर्व्यवहार गरेका हुन्।


एभरेष्ट लजको कोठामा रहनु भएका मन्त्री पाशवान र जिल्ला नेता गुप्ताको कोठामा पुगेर सभासद प्रमोद गुप्ताले कुटपिट गर्दै दुर्व्यवहार गरेको फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले बताएका छन्।


सभासद प्रमोद गुप्ताले भने बाराको बरियापुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरको विकासका लागि आएको २० लाख रुपैयाँ मन्त्री पाशवान र जिल्ला नेता गुप्ताले मिलेर भ्रष्टाचार गरेकाले कार्यकर्ताहरुले कुटपिट गरेको बताउनुभयो।


सभासद भएको व्यक्तिले जथाभावि गुण्डा लिएर जाने र गालीबेइजती तथा हातपात गर्नु लाजमर्दो भएको मन्त्री पाशवानले बताउनुभयो। झडप हुँदा ५ महिला र ९ जना प्रहरीसहित १४ जना घाइते भएका छन्।