पुजा अर्चनाका लागि भनि आएका पूर्व राजा ज्ञानेन्द्र शाह भेटघाटमा व्यस्त

Click on the slide!

पर्सा  – पुजा अर्चनाका लागि भनि आएका पूर्व राजा ज्ञानेन्द्र शाहले विहीबार वीरगन्जस्थित गहवामाई मन्दिरमा पुजा अर्चना गरेका छन् । दिउँसो करिव पौने चार बजे मन्दिर परिसरमा प्रवेश गरेका उनले आधा घण्टा सम्म पुजा अर्चना गरेर त्यहाँबाट बाहिरिए ।

साढे चार बजे स्थानीय सम्झना होटलमा आइपुगेका शाहले त्यहाँ आफ्ना पारिवारिक नातेदारहरु, सञ्चारकर्मी, राप्रपा नेपालका कार्यकर्ता, विद्वत परिषद् लगायत अन्य राजावादी तथा हिन्दूवादी संगठनका कार्यकर्ताहरुलाई अलग अलग भेटेका थिए । शिव सेना, हिन्दू युवा संघ लगायतका कार्यकर्ताहरु पनि होटेल परिसरमा देखिएका थिए । शाहलाई भेट्ने मध्ये अधिकांशले बिन्तीपत्र, कदरपत्र, बिभिन्न खाले उपहार दिएका थिए ।

स्थानीय सञ्चारकर्मीसँग भेटघाटको कार्यक्रम रिपोर्टर्स क्लव पर्साले मिलाएको थियो । शाहले सबै सञ्चारकर्मीसँग उभिएर परिचय गर्नुका साथै यस क्षेत्रका संचारकर्मीहरुको समस्याहरुबारे पनि जानकारी लिए ।

स्रोतका अनुसार, बुधबार परवानीपुर बजारमा बैष्णो मन्दिरको प्रथम पुजा अर्चना समारोहमा न्युन संख्यामा सर्वसाधारणको उपस्थितिका कारण शाह स्थानीय आयोजकहरुसँग रुष्ट रहेका छन् ।