हज तीर्थयात्रीका लागि बढी रकम असुल गरिएको भन्दै हजयात्री र आफन्तहरुले रकम फिर्ता नभएसम्म साउदी नजाने

– अब्दुल्लाह मियाँ

 

काठमाडौं, कार्तिक ८ – हज तीर्थयात्रीका लागि बढी रकम असुल गरिएको भन्दै हजयात्री र आफन्तहरुले रकम फिर्ता नभएसम्म साउदी नजाने बताएका छन् ।

हज कार्यकालागि साउदी आउजाउ गर्न र खानपिन र बाससहित प्रति हज यात्री एक लाख ५१ हजार एक सय ५० रुपैयाँ खर्च लाग्ने भएपनि हज समितिले एक लाख ७० हजार असुल गरेको थियो । हज यात्रीले एक लाख ५१ हृजार एक सय ५० बाहेकको रकम फिर्ता नगरेसम्म आफूहरु साउदी नउड्ने बताएका छन् ।

यात्री र आफन्तहरुले अहिले हज समितिका कार्यवाहक अध्यक्ष हलिम शाह र समितिका सदस्यलाई घण्टाघरस्थित कश्मिरी तकिया मस्जिदमा नियन्त्रणमा लिएका छन् ।

लाग्ने खर्च बाहेकको रकम फिर्ता गरेपछि मात्रै यात्रीले काठमाडौं छाड्ने बताएको सुनसरीबाट बाआमालाई काठमाडौं पुर्‍याउन आएका अयुब अन्सारीले बताए ।

तालिका अनुसार आजै बेलुकी ८ बजे एक सय ३० जना यात्रु एअर अरेबियामार्फत साउदी उड्ने कार्यक्रम छ । तर रकम फिर्ता नभएसम्म एरअरपोर्ट नजाने भन्दै यात्रुहरु मस्जिदमै छन् । ५ बजे एअरपोर्ट गईसक्नुपर्ने भएपनि रकम फिर्ता नभएको भन्दै यात्रुहरु मस्जिदमै छन् । यो वर्ष सात सय २१ मुस्लिम हजकालागि जाँदैछन् ।