रुकुम । दुई बर्षअघि कुष्ठरोग लागेका कारण गाउँ निकाला गरिएकी खारा ८ लाइतकी ६८ बर्षिया बेलमता खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने समाचार प्रशारण तथा प्रकाशन भएपछि उनलाई उपचारका लागि दाङ लगिएको छ ।
जिल्लास्थित सञ्चारकर्मीहरुले आफ्नो मिडियामा कुष्ठरोगीलाई आफन्तद्वारा गाउँ निकाला भन्ने समाचार प्रकाशन तथा प्रशारण गरेपछि कुष्ठरोग निवारण सम्बन्धी काम गर्ने संस्था आइएनएफले उपचारका लागि दाङ लिएर गएको हो ।
आइएनएफ दाङ्गका मुकुन्द अधिकारीका अनुसार पीडितलाई उपचार गरी घर फर्काइने छ । मंगलबार मात्र मानवअधिकारकर्मी तथा सञ्चारकर्मीको टोलीले कुष्ठरोगबाट पीडित बेलमताको अवस्थाबारे अध्ययन गरेको थियो ।
उनलाई कुष्ठरोगले छोएपछि कुष्ठरोग सर्ने डरले आफन्तले गाउँ निकाला गरी जंगल छेउको छाप्रोमा बस्ने व्यवस्था मिलाएका थिए ।
दुई छोरीकी आमा भएकी बेलमती खड्का २०६५ सालमा हातखुट्टा झमझमाएपछि उपचारका लागि स्थानिय बासिन्दाले उनलाई जिल्ला स्वास्थ्य कार्यालय सल्ले रुकुममा पुर्याएका थिए ।