नेपालको गरिबी निवारण र सर्वाङ्गीण विकासको सहयोगका लागि एसियाली विकास बैंकले सहकार्यलाई निरन्तरता दिने

काठमाडौँ । एसियाली विकास बैंकका दक्षिण एसिया विभागका महानिर्देशक सुल्तान एच रहमानले सो बैंकले नेपाल सरकार र यहाँका सरोकारवालासँग गरिबी निवारण र सर्वाङ्गीण विकासको सहयोगका लागि आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभएको छ ।


सो बैंकको नेपाललाई गर्ने सहयोग साझेदारी रणनीति २०१०- २०१२ अनुरुप सहयोगको प्राथमिकतामा रहेको भन्दै ती सहयोगका क्षेत्रहरु सर्वाङ्गीण विकास, सामाजिक विकास, सुशासन, क्षमता वृद्धि र जलवायु परिवर्तनका क्षेत्रमा हुने पनि उहाँले स्पष्ट गर्नुभयो ।


नेपालको तीन दिने भ्रमणपछि आज सो बैंकको नेपाल कार्यालयद्वारा जारी विज्ञप्तिमा यी क्षेत्रमा बैंकले नेपालको विकासका साथै नेपाली जनताको जीवनस्तर सुधारका काममा आफ्ना कार्यलाई निरन्तरता दिने स्पष्ट गर्नुभएको हो ।
नेपालले अहिले पनि विकासका जटिल चुनौतिको सामना गरिरहेको छ भन्दै दिगो शान्ति स्थापना मार्फत नेपालले ती चुनौतिलाई अवसरमा परिणत गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।


नेपाल भ्रमणका क्रममा उहाँले उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री बिजय गच्छदार, अर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा युवराज खतिवडा, नेपालका विकास साझेदार एवम् बरिष्ठ सरकारी अधिकारीसँग भेटघाट गर्नुभएको थियो ।


नेपाल भ्रमणका क्रममा उहाँले नेपालका विकास साझेदारसँग भेटघाट गरी नेपालको वर्तमान अवस्थाका बारेमा छलफल गरी थप विकासमा यहाँका विकास साझेदारले के कसरी प्रभावकारी ढङ्गबाट काम गर्न सक्छन् भन्ने विषयमा पनि कुराकानी गर्नुभएको थियो ।