पूर्व निर्णयबमोजिम आगामी माघ १ गते नेपालबाट नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)को विदाइ हुने

काठमाडौ। प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व निर्णयबमोजिम आगामी माघ १ गते नेपालबाट नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)को विदाइ हुने बताउनुभएको छ ।


नेपालका लागि जर्मनीका राजदूत भेरिना ग्राफिन भन रोड्रेनसँग बिहीबार सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा प्रधानमन्त्री नेपालले यसअघि भएको सहमतिअनुरूप अन्तिम पटकका लागि बढाइएको म्याद सकिनासाथ माघ १ गते नेपालबाट अन्मिन बाहिरिने स्पष्ट गर्नुभयो ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले नेपालले राजनीतिक दलहरूसँगको सहमति र सहकार्यमा जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आफू अहोरात्र जुटिरहेको बताउँदै प्रधानमन्त्री नेपालले अब छिट्टै मुलुकको राजनीतिक गतिरोध अन्त्य हुने विश्वास दिलाउनुभयो ।


सो अवसरमा राजदूत रोड्रेनले अन्मिनको भविष्य, शान्ति प्रक्रिया लगायत समसामयिक राजनीतिक विषयमा चासो व्यक्त गर्नुभएको थियो ।


बुधबार मात्र शान्ति प्रक्रिया, संविधान निर्माणलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीत भइ राजदूत रोड्रेनले नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग भेट गर्नुभएको थियो ।