लमजुङ । पूर्वी लमजुङको बोराङबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको एक यात्रुवाहक बस गोरखाको पालुङटारमा आज बिहान दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने एकसय भन्दा बढी घाइते भएका छन् ।
बसभित्र र बाहिर गरी झन्डै डेढसय यात्रु बोकेर गएको सो बस पालुङटार विमानस्थलनजिकै बिहान ११ बजेतिर दुर्घटना भएको हो ।
आज बिहान ७ बजे लमजुङको प्यारजुङ गाविसको बोराङबाट छुटेको ग१ख १३५९ नम्बरको बस पालुङटार विमानस्थलनजिकै उकालोमा चढ्दै गर्दा विपरीत दिशाबाट आएको ट्रयाक्टरलाई ठाउँ छोडिदिने क्रममा दुर्घटनाग्रस्त भएको बसका यात्रु राजन पोखरेलले बताउनुभयो ।
अत्यधिक भार भएका कारण एक्कासी बे्रेक लगाउँदा ब्रेक फेल भइ बस दुर्घटनाग्रस्त भएको बताइएको छ । बसभित्र र छतमा पनि खचाखच यात्रु रहेकाले प्रायः सबै यात्रुहरु घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्युहुनेमा लमजुङको कोल्कीका आइतबहादुर तामाङ रहेका छन् । घाइतेहरुमध्ये केहीलाई पालुङटारको लक्ष्मी मेडिकल हलमा प्राथामिक उपचार गराइँदैछ भने केहीलाई लक्ष्मी अस्पताल डुम्रे लगिएको छ ।