मनोज अधिकारी,
पोखरा, कात्तिक २६ – विरामीका आफन्तले चिकित्सकमाथि आक्रमण र आईसियू कक्षमा तोडफोड गरेको विरोधमा मणिपाल शिक्षण अस्पतालको उपचार सेवा बन्द भएको छ। विरामीको उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले गएराति डा.शरदचन्द्र बरालमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसियू कक्षमा तोडफोड गरेका थिए।
तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्ने, सञ्चारकर्मीसामु माफ माग्नुपर्ने लगायतका माग राखी चिकित्सक र कर्मचारीले शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण उपचार सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन्।
बिहीबार साँझ काठमाडौंका लागि रिफर गरिएका विरामीलाई उक्त अस्पतालले दिएको अक्सिजनको सिलिण्डर खाली भएको भन्दै आफन्तले राति आईसियू कक्षमा तोडफोड गरेका थिए।
अस्पताल बन्द हुँदा ओपिडी सेवामा आउने दैनिक ४ सयदेखि ५ सय विरामीले उपचार नपाई फर्कनु परेको छ। आफु असुरक्षित भएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अस्पतालका डा.यूवराज सेढाईले बताए।
प्रहरीले तोडफोडमा संलग्न रामु सुवेदी, कृष्ण भट्टराई, बोधराज शर्मा, प्रेम सुवेदी र बासुदेव सुवेदीलाई गएराति नै पक्राउ गरि कानूनी कारबाहीको प्रक्रिया सुरु गरिएको जनाएको छ ।