काठमाडौ । के तपाईँले ४० वर्ष पार गरिसक्नुभएको छ ? होस् गर्नु है कतै तपाईलाई मधुमेह रोग लाग्न सुरु भएको त छैन ? खानपानमा ख्याल गर्नुस् है । नेपालमा ४० वर्ष उमेर पुगेका तीनजनामध्ये एकजनामा मधुमेहको रोग फेला गरेको छ ।
त्रिभुवन विश्वविश्द्यालय शिक्षण अस्पतालका चिकित्सक डा रमेश महर्जनका अनुसार नेपालका उक्त उमेर समूहका मानिसमा मधुमेह रोगको पहिलोचरणको लक्षण देखा पर्न सुरु हुने गरेको पाइएको छ ।समयमा उपचार गरे पहिलोचरणमा देखा परेको उक्त रोग निको हुने उहाँले सुझाव दिनुभयो ।
डा महर्जनले अझ ६० वर्ष उमेर पार गरिसकेका मानिसमा भने चारजनामा एकजना मधुमेहका रोगी फेला परेको बताउनुभयो ।
उक्त उमेर समूहका मानिसमा लागेको मधुमेह रोग दीर्घखालको हुने र यस अवस्थामा पुगेको रोगलाई नियन्त्रणमात्रै गर्न सकिने तर निर्मूल गर्न नसकिनेसमेत उहाँले जानकारी गराउनुभयो ।नेपालमा आठ लाख व्यक्ति मधुमेहको रोगी छन् ।
एउटा बिरामीको उपचारका लागि औसत रु ४४ हजारसम्म लाग्ने बताइएको छ ।पेट हृवात्तै बढ्ने, खाना नरुच्ने, विस्तारै मुटुले काम नगर्ने, जीउमा आलस्यता आउने, पिसाब छिनछिनमा लाग्ने र अपाङ्गसमेत हुने लक्षण देखापरेमा स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरूले सुझाव दिनुभएको छ ।
चिकित्सकहरूका अनुसार खानपानमा ध्यान दिने हो भने मात्रै पनि मधुमेह रोगबाट बच्न सकिन्छ । धेरै चिल्लो र धेरै गुलियो नखानसमेत डा महर्जन सुझाव दिनुहुन्छ ।