काठमाडौ। राष्ट्रपति डा रामवरण यादवसँग साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका अवसरमा दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा राजकुमार अलसाउदले नेपालमा आर्थिक लगानीका सम्भावनाबारे अध्ययन गर्ने, सामाजिक क्षेत्रका परियोजनामा सहयोग गर्ने तथा नेपालमा साउदी अरेबियाको राजदूतावास खोल्न पहल गर्ने कुरा राष्ट्रपतिसमक्ष व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबीच, राष्ट्रपति डा रामवरण यादवले आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदलाई महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान गर्नुभयो ।
राष्ट्रपति डा यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजकुमार अलसाउदलाई नेपालको हितका लागि विशिष्ट योगदान पुर्याएबापत सो मानपदवी प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।