बम पाड्काएर माछा मार्ने गुल्मीका स्थानिय ६ युवा पक्राउ

रिडी – वम पड्काएर माछा मार्ने कार्यमा संलग्न ६ जना व्याक्तिलाई गुल्मीको जोहाङ्ग प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान पछि तारिखमा छाडेको छ ।


कार्तिक २५ गते वडिघाट खोलामा माछा मार्ने क्रममा हातमै वम पड्किएर अस्लेवा गाविसका एक व्याक्ति गम्भिर घाईते भएपछि सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वम्घा गाविस वार्ड नं १ का वुद्धवहादुर माझी,राजकुमार माझी सोही गाविस वार्ड नं २ का विरवहादुर माझी,कृष्णवहादुर माझी,सन्तवहादुर माझी र अनुष माझी रहेका छन् । उनीहरुलाई प्रारम्भिक अनुसन्धानपछि तारिखमा छाडिएको जोहाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामवहादुर वानियाँले वताउनुभएको छ ।


कार्तिक २५ गते वम पड्काएर सामुहिक रुपमा माछा मार्ने क्रममा हातमै वम पड्किँदा अस्लेवा गाविस ६ का मनवहादुर माझी गम्भिर घाईते भएका थिए भने उनी संगै रहेका ६ जना व्याक्तिहरु भने घाईतेलाई छोडी भागेका थिए ।


वेवारिसे अवस्थामा रहेका घाईते मनवहादुरलाई प्रहरीको सहयोगमा जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पाल्पा स्थित मिसन अस्पताल रिफर गरिएको थियो । अहिले घाईते मनवहादुर माझीको सोही अस्पतालमा उपचार भईरहेको छ ।