सरकारले अन्तरिम संविधानको नवौँ पटक संशोधनका लागि व्यवस्थापिका-संसदमा विधेयक दर्ता

काठमाडौ – सरकारले अन्तरिम संविधानको नवौँ पटक संशोधनका लागि व्यवस्थापिका-संसदमा बुधबार विधेयक दर्ता गराएको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संविधान संशोधन गरी अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेपछि संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गरिएको जानकारी कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले दिनुभयो ।


सरकारले दर्ता गराएको विधेयकमा धारा ९६, क को उपधारा (५) संशोधन गर्ने जनाएको छ ।


यसअघि मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन गरी अध्यादेशमार्फत बजेट ल्याउन सहमति जुटाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन गरेर यही मङ्सिर ३ गते व्यवस्थापिका-संसदमा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले दिनुभयो ।