ल्याण्डग्रेनको पत्रमा शान्ति सम्झौता र सेना तथा हतियार अनुगमन सम्बन्धी सम्झौता विपरितका गतिबिधि नगर्न तथा नगराउन पनि माओबादी र सम्बद्ध पक्षलाई आग्रह गरिएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै विश्वकर्माले माओवादी लगायत सम्बद्ध पक्षले वृहत शान्ति सम्झौता विपरित क्रियाकलाप गरेर शान्तिप्रक्रियालाई खलल पुग्ने खालका गतिविधि नगर्न समेत ल्याण्डग्रेनले पत्रमार्फत सबैको ध्यानाकार्षण गराएको बताउनुभयो ।
सरकार र अन्य राजनीतिक दलहरुले पनि माओबादीको यस कदमले शान्ती सम्झौता भंग हुने बताउदै आएको छ ।
सेना समायोजन सम्वन्धी विषेश समितिले हालै मात्र पारित गरेको लडाकुहरुको आचार स.हितामा पनि समितिको मातहतमा आइसकेपछि कुनै पनि राजनीतिक गतिबिधीमा सहभागि हुन नपाउने ब्यवस्था उल्लेख छ ।
यसअघि नै आचार संहिता र लडाकुलाई विषेश समितिको माताहतमा ल्याउन माओवादीले सहमति जनाइसकेको छ ।
यसैबीच माओवादीले अनमिनको पत्र अध्ययन गरी विस्तारित बैठकमा लडाकुको सहभागिता बारे अन्तिम निर्णय गर्ने भएको छ ।
माओवादी सचिव सीपी गजुरेलले पत्र पाएको स्वीकार गर्दै शुक्रबार अध्ययन गरी अनमिनलाई जवाफ पठाउने अनलाइनखबरलाई जानकारी दिनुभयो ।
गोरखाको पालुङ्गटारमा हुने माओवादीको विस्तारित बैठकमा १ हजार भन्दा बढी लडाकुले सहभागिता जनाउँदै छन् ।
































