कांग्रेस सभापति सुशील कोइरालाद्वारा माओवादीले जनतालाई झुक्याएर झुटको राजनीति गरेको आरोप

भैरहवा  – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा (माओवादी)ले जनतालाई झुक्याएर झुटको राजनीति गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति काइरालाले १२ बुँदेदेखि भएका विस्तृत शान्ति सम्झौताको एक अक्षर पनि पालना नगरेको बताए।

 

संसदमा बजेट पेस गर्ने सम्बन्धमा पनि माओवादीसँग छलफल गरी सहमति भएको तर माओवादीले त्यसलाई आफ्नै किसिमले व्याख्या गरेर संसद भवनभित्र मन्त्री तथा संसदमाथि हातपात गरी जङ्गली कार्यको पुनरावृत्ति गरेको उनले बताए।


माओवादीले संसद भवनभित्र गरेको क्रियाकलापको भर्त्सना गर्दै सभापति कोइरालाले सभामुखले आवश्यक कारबाही गर्नुपर्छ भने।


माओवादीले जतिसुकै धम्कीको कुरा गरे पनि अब जङ्गल फर्किने स्थिति उसका लागि सहज नरहेको बताउँदै उनले राज्यसत्ता कब्जा अब माओवादीका लागि दिवास्वप्न मात्र रहने बताए।


यसैबीच पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति कोइरालाले १६ औँ पटकको निर्वाचनसम्म प्रधानमन्त्रीको उमेदवारीबाट नेपाली काँग्रेसले नाम फिर्ता नलिनु सत्तालिप्साका लागि होइन भन्दै उम्मेदवारी फिर्ताले मुलुकमा अझ अराजकता ल्याउने उल्लेख गरे।


एमालेको अस्पष्ट नीति र माओवादीको अराजकताले मुलुकमा समस्या आएको बताउँदै उनले स्थायित्व भए १५ वर्षमा मुलुकमा कायापलट हुने दाबी गरे। -रासस