नवलपरासीको परासीमा विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन, शैक्षिक संस्था, यातायात बन्द गर्ने चेतावनी

नवलपरासी । विद्यार्थीहरुमाथि ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको भन्दै पाल्ही बहुमुखी क्याम्पस परासीका विद्यार्थीहरुले आज सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन् ।


विद्यार्थीहरु माथि दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीले माफी माग्नुपर्ने र कानुन बमोजिम कारवाही हुनुपर्ने भन्दै विद्यार्थीहरुले विरोध स्वरुप नाराबाजी गर्दै नगरपरिक्रमा गरी विरोध प्रदर्शन गरेका हुन् ।


विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरुले आज जिल्ला प्रहरी कार्यालय अगाडि कोणसभा गर्नुका साथै ज्ञापनपत्र पनि बुझएका छन् । यदि आज ट्राफिक प्रहरीले माफी नमागे भोलीदेखि जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने र यातायात समेत अवरुद्ध गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।


गत शनिबार गैडाकोटको मौलाकालीमा पिकनिक खाएर फर्कने क्रममा कावासोतीमा ट्राफिक प्रहरीले विद्यार्थीहरुमाथि दुर्व्यवहार गर्नुका साथै हातपात गरेको पाल्ही बहुमुखी क्याम्पसका स्ववियु सभापति अमित पटेलले बताउनु भएको छ ।