माओवादीको विस्तारित बैठकको बन्दसत्रमा तीनवटा प्रतिवेदनका आधारमा भावी कार्यदिशाका विषयमा छलफल सुरु

पालुङटार गोर्खा । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको बन्दसत्रमा तीनवटा प्रतिवेदनका आधारमा भावी कार्यदिशाका विषयमा छलफल सुरु भएको छ ।

 

बैठकको बन्दसत्रमा पेश हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य किरण र बाबुराम भट्टराईले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेपछि त्यसैका विषयमा छलफल हुनेछ ।


बन्दसत्रको सुरुमा उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो प्रतिवेदनका विषयमा आफ्ना कुरा राख्नु भएको छ । तीनवटा प्रतिवेदनलाई चार भागमा विभाजन गरेर छलफल हुनेछ । पहिलो चरणमा भट्टईराइले माओवादीको तत्कालको कार्यदिशा शान्ति र संविधान बन्नुपर्ने बताउनु भएको छ ।


भट्टराईको भनाइ सकिएपछि अहिले खानाका लागि केही समय बन्दसत्र स्थगित गरिएको छ। खाना समय सकिएपछि उपाध्यक्ष वैद्यले त्यसपछि अध्यक्ष प्रचण्डले आफ्ना प्रतिवेदनको बारेमा प्रष्ट पार्नु हुनेछ । त्यसपछि नेता कार्यर्ताहरुले आ-आफ्ना सुझाव, आलोचना र विचार राख्न सुरु गर्नेछन्  ।


प्रत्येक राज्य समितिबाट तीन वटा प्रस्तावकका पक्षमा एक-एक जना र कुनै पनि प्रस्तावको पक्षमा नलागी तटस्थ रहने एकजनाले आफ्नो धारणा राख्ने विधि तय गरिएको छ । राज्य समितिका सदस्यहरुका सुझाव सुनिसकेपछि तीनै जना नेताहरुले आफ्नो प्रस्तावबारे थप स्पष्ट पार्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।


त्यसपछि सबैको धारणा समेटेर अध्यक्ष प्रचण्डले संश्लेषित धारणा राख्ने कार्यक्रम छ । तीनवटै प्रतिवेदनबाट एउटा धारणा तय हुने नेताहरुले दावी गरेका छन् । गएराती अबेरसम्म पनि प्रचण्डले आफ्नो प्रतिवेदनलाई पारित गराउन नेतृत्व तहमा नै छलफल चलाउनुभएको थियो ।


अध्यक्ष प्रचण्डको  दस्तावेजविरुद्ध फरक दस्तावेज प्रस्तुत गर्नु भएका वैद्यको प्रस्ताव मिल्दोजुल्दो भएको भन्दै एकै बनाउने प्रयास छलफल चलिरहँदा पनि हुने माओवादी स्रोतले जनाएको छ ।


भक्तपुरको खरिपाटीमा भएको विस्तारित बैठकले नै करिव तीन वर्षअघि जनताको संघीय गणतन्त्रको कार्यदिशा पारित गरेको थियो । तीनवटै प्रतिवेदनमा भावी कार्यदिशा जनविद्रोहमार्फत् जनगणतन्त्र भएपनि त्यसको बाटो र कार्यान्वयन प्रक्रिया फरक फरक छन् । विस्तारित बैठकमा माआवादीका १ हजार भन्दा बढी जनसेनासहित ६ हजार नेता कार्यकर्ताको सहभागिता रहेको छ । बैठक अझै तीनदिन सम्म चल्नेछ ।