गोरखाको पालुङटारमा जारी विस्तारित बैठकमा आ-आफ्नो प्रतिवेदनबारे व्याख्या गर्ने क्रममा उपाध्यक्षहरुले आक्रमणको मूल निशाना प्रचण्डलाई

गोरखाको पालुङटारमा जारी विस्तारित बैठकमा आ-आफ्नो प्रतिवेदनबारे व्याख्या गर्ने क्रममा उपाध्यक्षहरु मोहन वैद्य किरण र डा बाबुराम भट्टराईले आक्रमणको मूल निशाना प्रचण्डलाई बनाएका छन्।


सोमबारको उदघाटन सत्रमा नेताहरुबाट एकताको सन्देश पाएका कार्यकर्ताहरुले मंगलबार उनीहरुबीचनै रहेका मतभिन्नताहरु सुने।


छताछुल्ल


उपाध्यक्षद्वय किरण र भट्टराईले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्दा ती मतभिन्नताहरु छताछुल्ल भएका हुन्।


बैठकका सहभागीहरुका अनुसार दुवै नेताहरुको प्रतिवेदनको मूल निशाना प्रचण्डनै थिए।


स्पष्ट नीति र विचार दिन नसकेको भन्दै उनीहरुले प्रचण्डको आलोचना गरेको बताइएको छ।


सूत्रहरुका अनुसार उपाध्यक्ष किरणले आफुहरु तत्काल नेतृत्व परिवर्तनको पक्षमा नभएपनि नेतृत्वले क्रान्तिकारिता गुमाए त्यसलाई चुनौती दिने चेतावनी दिएका थिए।


मुख्य दुश्मन को?


प्रचण्डको आलोचना दुवैले गरेपनि उपाध्यक्षद्वय किरण र भट्टराई स्वयं विपरित धारका नेताहरुको रुपमा चिनिन्छन्।


भारतलाई अहिलेनै मुख्य दुश्मनको रुपमा किटान गर्ने कि नगर्ने भन्ने उनीहरुबीचको विवादको एउटा मुद्दा हो।

सो मुद्दाबारे बोल्दै माओवादी पार्टीका प्रवक्ता दिनानाथ शर्माले विवाद सामान्य प्रकृतिको भएको आभाष दिलाउने प्रयास गरे।