काठमाडौ – एक दर्जन पश्चिमा दातृ मलुक तथा निकायहरुले संयुक्त प्रेस बिज्ञप्ति जारी गरी अध्यादेश मार्फत बजेट ल्याएकोमा खुशी व्यक्त गर्दै राजनीतिक गतिरोधको अन्त्य गर्न नेताहरुलाई आग्रह गरेका छन् ।
दाताहरुको तर्फबाट यहाँस्थित अमेरिकी विकास नियोगले मंगलबार जारी गरेको बिज्ञप्तिमा राजनीतिक गतिरोध र काम चलाउ सरकारको निरन्तरत रहिरहे दाताहरुले आफ्नो सहयोगको औचित्य खोज्ने चेतावनी समेत दिएका छन् ।
नयाँ सरकार निर्माण, शान्ति प्रक्रियाको कार्यान्वयन र नयाँ संविधान लेखनको सुस्त गतिबाट विकासमा परिरहेका नकारात्मक प्रभावका बारेमा नेताहरु समक्ष सरोकार राख्न चाहेको उल्लेख गर्दै कठिन परिस्थितिमा बजेट घोषणा भएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका हुन् ।
बिज्ञप्तिमा विशेषगरी भ्रष्टाचार, स्वामित्व र जवाफदेहिता, महत्वपूर्ण सार्वजनिक कार्यालयहरूका प्रमुख रिक्त पदहरू पूर्ति गर्नमा ढिलाई र बिग्रदो सुरक्षाको वातावरण प्रति उनीहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
बिज्ञप्तिमा एसियाली विकास बैंक, क्यानेडाली अन्तर्राष्ट्रिय विकास नियोग, डेनिस राजदूतावास, फिनल्याण्डको राजदूतावास, जर्मन राजदूतावास, नर्वेली राजदूतावास, युरोपियन युनियन, विकास र सहकार्यका लागि स्वीस नियोग, स्वीस राजदूतावास, बेलायती अन्तर्राष्ट्रिय विकास विभाग, अमेरिकी विकास नियोग र विश्व बैंकको सहभागिता रहेको उल्लेख गरिएको छ ।



