काठमाडौ । ठूला तीनदलले देशलाई दुर्घटनातर्फ उन्मुख गराएको भन्दै संविधानसभाका साना दलले प्रगतिशील गठबन्धनको घोषणा गरेका छन् ।
साना सात दलले संविधानसभा सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी संविधानसभावाट संविधान निर्माण गरी प्रगतिशिल र समतामूलक समाज निर्माणका लागि भन्दै गठनबन्धनको घोषणा गरेका हुन् ।
गठबन्धनमा नेकपा माले समाजवादी, नेकपा एकीकृत, जनमुक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी, सदभावना आनन्दीदेवी, नेपाली जनता दल र संघीय लोकतान्त्रिक मञ्च सहभागी छन् ।
गठबन्धनले थपिएको समयमै संविधान निर्माणको काम पूरा गर्ने, शान्ति प्रक्रियालाई यथोचित टुङ्गोमा पुर्याउने, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने तथा जनहितका लागि अधिकतम काम गर्ने लगायत ७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
गठबन्धन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सद्भावना नेतृ सरिता गिरीले संविधानसभा र व्यवस्थापिका संसदजस्ता राष्ट्रिय संस्थालाई निस्क्रीय बनाएर शान्ति प्रक्रियालाई अवरुद्ध गर्न खोजिएको आरोप लगाउनुभयो । संसदको अधिवेशन अन्त्य गरेर अध्यादेशवाट बजेट ल्याउनु प्रतिगमन व्युँताउने षड्यन्त्र भइरहेकाले गठबन्धन घोषणा गर्न परेको उहाँले दावी गर्नुभयो ।
नेकपा एकीकृतका अध्यक्ष ऋषि कट्टेलले प्रमुख तीनदलले जनभावना विपरित देशलाई दुर्घटना उन्मुख बनाएका कारण साना दलले खवरदारी सुरु गरेको बताउनुभयो । संविधानसभाको थपिएको कार्यकालको आधा सयय त्यत्तिकै खेर गएको तथा जनआन्दोलनका उपलव्धी गुम्ने खतरा बढेपछि आफूहरुले खवरदारी सुरु गर्नु परेको बताउनुभयो ।
नेपा राष्ट्रिय पार्टीका डा केशबमान शाक्यले गणतन्त्र र धर्म निरपेक्षता जस्ता उपलव्धी खतरामा पर्ने स्थिति आए आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभयो ।
सात दलीय गठबन्धनको आधार पत्र
अहिले देशको राष्ट्रिय राजनीतिको प्रमुख जिम्मेवारी भनेको राष्ट्रको सार्वभौमिकताको रक्षा गर्दै नयाँ संविधान निर्माण गर्नु, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु र संक्रमणकालको दौरानमा विधिको शासन एवं शान्ति सुरक्षाको प्रत्याभुति गराउनु हो । अन्तरिम संविधानमा तोकिएको दुई वर्षको म्याद समापन भएर पुनः एक वर्षको अवधी थप गरिएता पनि संविधान निर्माण र शान्ति प्रक्रियाका कामहरू सुचारू रूपमा अगाडी नबढेको अवस्था छ । देश अहिले पनि तरल अवस्थामा छ र कुनै न कुनै प्रकारले द्वन्दमा पुनः फँस्न सक्ने सम्भावनाहरू कायमै छन् ।
कामचलाउ सरकार र यसका समर्थक दलहरू विधिको शासन, संविधान र शान्तिको विषयलाई पछि पारेर सत्ताको अस्वस्थ खेलमा लिप्त हुन पुगेका छन भने प्रमुख प्रतिपक्षी एकीकृत नेकपा -माओवादीे) ले पनि राजनीतिक गतिरोध समाप्त गरी निकास दिन सफल हुन सकिराखेको छैन । केही मधेशी पार्टीहरू नयाँ शक्तिको रूपमा संविधान सभामा उपस्थित भए पनि राष्ट्रिय राजनीतिमा सकारात्मक र निकास दिने भूमिकाको निर्वाह गर्न असफल रहेका छन् । सबल स्थायी सरकार र राजनीतिक स्थिरता दिन माओवादी नेतृत्वको दुई तिहाइको सरकार पनि सफल नरहेको परिपे्रक्ष्यमा र अहिलेको कामचलाउ सरकार संसद-व्यवस्थापिका र विपक्षीहरूप्रति षडयन्त्र र दमनको नीति अख्तियार गर्दै माओवादी सशस्त्र संघर्ष, जन-आन्दोलन, मधेश-आन्दोलन, आदिवासी-जनजाति आन्दोलन, महिला आन्दोलन र दलित आन्दोलनका उपलब्धिहरूलाई कमजोर पार्दै लोकतन्त्र र अन्तरिम संविधानलाई नै समाप्त पार्ने दिशामा क्रियाशील छ । यसरी ठूला दलहरूद्वारा गरिएका गतिविधी र भूमिकाका कारणले गर्दा आम नेपाली जनतामा राजनीतिक पार्टी र संविधान सभाप्रति नै अविश्वास र वितृष्णा उत्पन्न हुने परिस्थिति उत्पन्न हुंदै गई राखेको छ ।
अतः देशको राजनीतिक दिशाहीनता र गतिरोधको अवस्थाबाट निकास निकालेर अगाडी बढनु पर्ने अवस्था टड्कारो रूपमा हाम्रो अगाडी उपस्थित भएको छ । यस अवस्थामा संविधान सभा मार्फत देशको नयाँ संविधान निर्माण गर्ने, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने एवं संक्रमण कालमा सुरक्षा तथा सुशासनको बहाली गर्दै समृद्ध नयाँ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको पक्षधरहरूले साझा नीति र कार्यक्रमिक योजनाहरूका साथ सहकार्य गरेर अगाडी बढनु पर्ने अवस्था आएको छ ।
तसर्थ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको राष्ट्रिय एकता, अक्षुणता तथा राष्ट्रिय हितको संरक्षण र संवर्द्धनका लागि आफ्नो पूर्ण निष्ठा र प्रतिबद्धता व्यक्त गर्दै तथा नेपाली जनताको सार्वभौम अधिकारको रक्षा गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, सामाजिक न्यायका पक्षधर संविधान सभामा प्रतिनिधित्व भएका हामी सात दल संविधान सभाद्वारा नयाँ संविधानको निर्माण गरी प्रगतिशील तथा समतामूलक समाजको निर्माणका लागि प्रगतिशील लोकतान्त्रिक गठबन्धनको निर्माण भएको घोषणा गर्दछौं । यो गठबन्धन निम्न उद्देश्यहरूको प्राप्तिको लागि क्रियाशील रहने छ ः-
१. संविधान लेखन/निर्माण कार्यलाई थपिएको समयावधि भित्र पूर्णता दिने ।
२. नयाँ संविधानको सिद्धान्त र अन्तर वस्तुको निक्र्यौल गर्ने ।
३. शान्ति प्रक्रियालाई यथोचित ढङ्गले टुङ्गो लगाउने ।
४. जनहितका लागि अधिकतम कार्यक्रमिक योजनाको पक्षमा काम गर्ने ।
५. लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने ।
६. व्यवस्थापिका संसदको प्रभावकारिता बढाउने ।
७. संघीय राज्य व्यवस्था निर्माण गर्ने ।
हामी आउने दिनमा आफ्नो नीति र कार्यक्रम निरन्तर रुपले सार्वजनिक गरी राख्ने छौं ।
१. नेपाल सद्भावना पार्टी -आ.)
अध्यक्ष – मा. श्री सरिता गिरी –
२. नेपाल कम्यूनिष्ट पार्टी -एकिकृत)
अध्यक्ष – श्री ऋषि कट्टेल –
३. नेकपा -माले-समाजवादी)
अध्यक्ष – श्री जगत बहादुर बोगटी –
४. राष्ट्रिय जनमुक्ति पार्टी
अध्यक्ष – मा. श्री एम.एस. थापा –
५. नेपा राष्ट्रिय पार्टी
अध्यक्ष – डा. केशवमान शाक्य –
६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अध्यक्ष मण्डल सदस्य – श्री डि.के. बुद्धिष्ट –
७. नेपाली जनता दल
अध्यक्ष – श्री हरिचरण साह