बागलुङ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र राजनीतिक स्थिरताका लागि राजतन्त्रको आवश्यकता भएकाले ढिलोचाँडो राजतन्त्र फर्कने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले बिहीबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २००७ देखि २०६२/०६३ सम्मका सबै आन्दोलन विदेशी प्रेरणा, प्रोत्साहन र पैसामा भएको बताउनुभयो ।
नेपाली जनताको ढुकढुकीबाट निस्केको राष्ट्रिय स्वाभिमानी आन्दोलनले मात्र विघटनको दिशामा पुगेको राष्ट्रलाई जोगाउन सक्ने बताउँदै उहाँले राजतन्त्र नहुँदा विदेशी चलखेल र प्रभाव बढेकाले राजावादीदेखि माओवादीसम्म अट्न सक्ने व्यवस्था आवश्यक रहेकामा जोड दिनुभयो ।
अध्यक्ष थापाले नेपालगन्जका पूर्वप्रमुख धवल शमशेर राणालाई केन्द्रीय उपाध्यक्ष, बागलुङका विदुर खड्का र नरु थापामगरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।