प्रचण्डद्वारा शान्ति र संविधान निर्माणमा इमान्दारिताका साथ अगाडि बढ्ने अवरोध गरे त्यसको कडा प्रतिरोध गर्दै जनविद्रोहमा जाने प्रस्ताव

पालुङ्गटार, गोरखा  – एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिने भएको छ । आज अध्यक्ष प्रचण्डले यसअघि प्रस्तुत भएका ३ वटा प्रस्ताव र विस्तारित बैठकमा प्रतिनिधिहरुले उठाएका सवालहरु समेत समेटेर मुल दस्तावेज प्रस्तुत गर्नुभएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।


भोलीको बैठकमा उपाध्यक्षद्वय मोहन बैद्य-किरण) र डा.बाबुराम भट्टराईले प्रतिनिधिहरुले उठाएका जिज्ञासाबारे थप स्पष्ट पार्ने र अन्त्यमा अध्यक्षले संश्लेश्षण गरेपछि बैठक सम्पन्न हुने बताईएको छ । प्रवक्ता शर्माका अनुसार प्रचण्डको दस्तावेजमा पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।


प्रचण्डको दस्तावेजमा शान्ति र जनमुखी संविधान निर्माणमा इमान्दारिताका साथ अगाडि बढ्ने र प्रतिक्रियावादीहरुले अवरोध गरे त्यसको कडा प्रतिरोध गर्दै जनविद्रोहमा जाने प्रस्ताव रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । राष्ट्रिय स्वाधीनताको मुद्दा प्रमुख भएकाले विदेशी हस्तक्षेपका विरुद्ध जनताको साथ लिएर संघर्ष गर्ने प्रस्ताव समेत दस्तावेजमा गरिएको छ ।


गत ५ गतेदेखि जारी बैठक भोली विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । भोली नै बैठक सम्पन्न हुने र दिउसो २ बजे पालुङ्गटारमा जनसभा गरिने माओवादीले जनाएको छ । सभालाई अध्यक्ष लगायतका उच्च नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।  कार्यकर्ताहरुले नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्दै पार्टीको रुपान्तरण, एकता र संघर्षको योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । गोरखा ।