मुलुकमा तीन ठूला राजनीतिक दलहरुले सत्तामोहमा परेर शान्तिप्रक्रिया र संविधान लेखनको कामलाई ओझेलमा पारेको साना दलका नेताहरुको आरोप

काठमाडौ। मुलुकमा तीन ठूला राजनीतिक दलहरुले सत्तामोहमा परेर शान्तिप्रक्रिया र संविधान लेखनको कामलाई ओझेलमा पारेको साना दलका नेताहरुले आरोप लगाएका छन् ।


नेकपा -माले-समाजवादी)ले शुक्रबार राजधानीमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा नेकपा -माले-समाजवादी)का अध्यक्ष जगतबहादुर बोगटीले प्रधानमन्त्री चयनकै खेलमा मात्र तीन ठूला राजनीतिक दल लागेर शान्तिप्रक्रिया र संविधान लेखनको कार्यमा ध्यान नपुर्‍याएको आरोप लगाउनुभयो ।


नेपाल सद्भावना पार्टी -आनन्दीदेवी)का अध्यक्ष सरिता गिरीले ठूला राजनीतिक दलहरुले सत्तामोहमा लागेर आफ्नो महत्वपूर्ण जिम्मेवारी शान्तिप्रक्रिया र संविधान लेखनको कामलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।


चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष केशव मैनालीले जनतालाई शान्ति र संविधान चाहिएको तर तीन राजनीतिक दल प्रधानमन्त्री र सत्ताको खेलमा मात्र लागिपरेकाले मुलुकमा झन समस्या थपिएको बताउनुभयो ।


दुई दिनसम्म चल्ने पार्टीको भेलामा ५० जिल्लाबाट २५० प्रतिनिधि सहभागी भएका छन् । भेलाले शनिबार पार्टीको नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।