माओवादीसँग रहेका लडाकू व्यवस्थापन नभएसम्म नेपालमा रहेको अन्मिन फर्काउन नमिल्ने र अन्मिनको म्याद थप हुने शान्ति मन्त्रीको धारणा

बेत्राबती । शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले एकीकृत नेकपा (माओवादी)सँग रहेका लडाकू व्यवस्थापन नभएसम्म नेपालमा रहेको राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन) फर्काउन नमिल्ने र अन्मिनको म्याद थप हुने बताउनुभएको छ ।


रसुवाको स्याफ्रुबेंसीमा पत्रकारसँग कुरा गर्दै मन्त्री चेम्जोङले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याइ नेपालमा शान्ति स्थापना नभएसम्म अन्मिन फिर्ता गरिनु हानिकारक हुने धारणा राख्नुभयो ।


साथै उहाँले लडाकूको पुनःस्थापना नभएसम्म शान्तिप्रक्रिया टुङ्गोमा नपुग्ने पनि बताउनुभयो ।


देशमा शान्ति पुनर्वहाली गर्न एनेकपा -माओवादी) लचिलो र गम्भीर हुनुपर्ने बताउँदै शान्तिमन्त्री चेम्जोङले माओवादीले सैन्यवादी सोच राखेका कारण समस्या उत्पन्न भइरहेको उल्लेख गर्नुभयो ।


मन्त्री चेम्जोङले द्वन्द्वका समयमा ध्वस्त भएका संरचनाको पुनःनिर्माण, द्वन्द्व पीडितलाई राहत प्रदान तथा शान्ति स्थापनार्थ सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।