माओवादीलाई एकल्याएर नयाँ सरकार बनाएमा शान्ति प्रक्रिया धरापमा पर्ने एमाले केन्द्रीय सदस्यको भनाइ

मोरङ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चल इञ्चार्ज राजेन्द्र गौतमले माओवादीलाई एकल्याएर नयाँ सरकार बनाउन नहुने र बनाएमा शान्ति प्रक्रिया धरापमा पर्ने बताउनुभएको छ ।


शनिबार विराटनगरमा कानुन व्यावसायीहरूले आयोजना गरेको मानवअधिकारसम्बन्धी कार्यक्रममा नेता गौतमले शान्ति प्रक्रिया भनेकै माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनका लागि भएकाले उसलाई एकल्याएर सरकार बनाए केही मन्त्री र नेतालाई तत्काल फाइदा पुगे पनि देशलाई भने ठूलो घाटा हुने बताउनुभयो ।

उहाँले वर्तमान समयमा माओवादीलाई मात्र नभएर नेकपा एमालेलाई पनि एकल्याउन नहुने बताउँदै बामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहमतिले नै वर्तमान राजनीतिक गतिरोध हट्ने दाबी गर्नुभयो । त्यसका लागि सवैले जित्ने नीति अवलम्वन गर्नुपर्नेमा उहाँको जोड थियो ।