कांग्रेस सभापतिले उपसभापति र महामन्त्री पदमा दुईजनालाई मनोनयन गर्ने प्रस्तावकाबारे सो दलभित्र बढेको विवाद झनै चर्कियो

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उपसभापति र महामन्त्री मनोनयनका लागि गरेको प्रस्तावका विषयमा कांग्रेसभित्र देखिएको विवाद झनै चुलिएको छ।


मनोनयनका विषयमा कांग्रेस केन्द्रिय कार्य समितिमा विवाद चर्किएपछि पदाधिकारी चयनको विषय सोमबार पनि टुङ्गिन सकेन।


कतिपय सदस्यका विचारमा मनोनयन विवाद अझै केहि दिन लम्बिन सक्छ।


नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने प्रस्ताव अघि सारेपछि आइतबारदेखि शुरु भएको कांग्रेस केन्द्रिय कार्य समितिमा विवाद बढेको हो।


विभाजन


एकजना केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीका अनुसार बैठकमा २५ जना सदस्यहरुले आफ्नो मत राखिसकेका छन्, र उनी सहित केही सदस्यहरुले सभापति कोइरालालाई आफ्नो प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव पेश गर्न सुझाव दिएका छन्।