कांग्रेसले पदाधिकारी मनोनयन विवाद टुंग्याउन सकेन

– सदस्यहरुले बोल्नेक्रम नसकिएकाले कांग्रेसले बुधबार पनि पदाधिकारी मनोनयन विवाद टुंग्याउन सकेन ।

सानेपास्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा केवी गुरुङ, प्रदीप गिरी, रामशरण महत, खुमबहादुर खड्का, रामशरण महतलगायतले बोले । केन्द्रीय समिति बैठकमा बुधबार सदस्यले पनि प्रस्तावको पक्ष र विपक्षमा मत प्रकट गरे ।

सभापति सुशील कोइरालालाई निकटकालेसमेत साथ नदिएपछि उनको प्रस्ताव अल्पमतमा परेको छ । कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलाको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि विवाद बढेको छ । बैठक बिहीबार पुनः बस्ने छ ।

पदाधिकारी विवाद मतदानबाट टुंग्याउन देउवा पक्षधरको माग

कांग्रेसको पदाधिकारी मनोनयन विवाद चर्कदै जाँदा देउवा पक्षधर सदस्यले मतदानबाट टुंगो लगाउन जोड दिने भएका छन् ।

सभापति सुशील कोइरालाको प्रस्ताव विरुद्ध बहुमत पुग्ने आंकलनसहित देउवा पक्षले मतदानमा जानुपर्नेमा जोड दिएको हो । सोही प्रयोजनका लागि देउवा पक्षले  बुधबार ललितपुरको इन्टरनेशनल क्लबमा छुट्टै भेला गरेको छ ।

भेलाले मतदानबाटै पदाधिकारी चयन गनुपर्ने लबिङ बलियो बनाउने निर्णय गरेको सहभागी एक सदस्यले बताए । भेलामा नेता शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायत सहभागी थिए । यसैबीच पदाधिकारी मनोनयनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार चौथो दिन पनि जारी छ ।

सभापति  कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलालाई प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरूबीच मतभेद बढेको हो । भागबण्डामा सहमति भए बिहीबार सम्ममा पदाधिकारीबारे ठोस सहमति बन्ने एक केन्द्रीय सदस्यले बताए । देउवा पक्षले दुई पदाधिकारीमात्र नभई मनोनयन गर्न बाँकी सबै पद र समितिमा एकै पटक टुंगो लागाउनु पर्ने अडान राखेको छ ।