संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले नेपालस्थित राष्ट्रसङ्घीय मिसन अन्मिन फर्किएको ३ वर्षसम्म शान्ति प्रक्रियाको अनुगमन गर्ने भएको छ ।
शुक्रबार नेपाल भ्रमणमा आएका राष्ट्रसङ्घीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बी लिन पास्कोले अन्मिन फर्किएको ३ वर्षसम्म सुरक्षा परिषद्ले शान्ति प्रक्रियाको अनुमगन गरिरहने जानकारी दिनुभएको हो ।
काठमाडौं आइपुग्ने बित्तिकै भेटवार्ता थाल्नुभएका पास्कोले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई भेटी सावधानीपूर्वक माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापना प्रकृया टुङ्गोमा पुर्याउन आग्रह पनि गर्नुभयो ।
दलहरुसँग समय निकै कम रहेको भन्दै पास्कोले समायोजन गरिने र समाजमा पुनथापना गरिने लडाकुहरुको सङ्ख्या तोकी सहमतिमा पुग्न पनि आग्रह गर्नुभएको छ ।
यसअघि पास्कोले राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति डा. यादवलाई भेट्न पास्को विमानस्थलबाटै शितल निवास पुग्नुभएको थियो ।
दुई दिने आफ्नो बसाईमा सरकार र राजनीतिक दलका नेताहरुसँग शान्ति प्रकि्रयाका बाँकी काम कसरी सम्पन्न गर्न भन्ने बारेमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
गच्छदार-पास्को भेट काठमाडौ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव बि लिन पास्कोले आज अपराहृन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गर्नुभयो ।
सो अवसरमा नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण, माओवादी लडाकूको समायोजन र अनमिनको बर्हिगमनपछि संयुक्त राष्ट्रसङ्घले गर्नसक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
वार्तामा सेना समायोजन विशेष समितिको भावी योजना, समायोजनको ढाँचा र शान्तिप्रक्रियाका लागि राष्ट्रसङ्घबाट हुने द्विपक्षीय सहयोगका विषय समेत छलफल भएको कुरा वार्तापछि उपमहासचिव पास्कोले पत्रकारहरूलाई बताउनुभयो ।
सो भेटवार्तामा गृहमन्त्री भीम रावल पनि सहभागी हुनुहुन्थ्यो ।