– वन मन्त्रालयले सात जना सहसचिव सरुवा गरेको छ । मन्त्रालयको वातावरण महाशाखाबाट कृष्णप्रसाद आचार्यलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । सर्वोच्चको आदेशअनुसार तत्कालीन महानिर्देशक गोपालप्रसाद उपाध्याय उपसचिवमा घटुवा भएपछि विभाग रिक्त थियो ।
वनस्पति विभागका महानिर्देशक डा. कृष्णचन्द्र पौडेललाई मन्त्रालयको वातावरण महाशाखामा ल्याइएको छ । यसअघि पौडेल वातावरण महाशाखाबाटै वनस्पति विभाग सरुवा भएका थिए ।
वन विभागका सहसचिव प्रकाश सायमीलाई वनस्पति विभागमा लगिएको छ । वन विभागको महानिर्देशकमा गोपालकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । उनी विभागमै सामुदायिक वन महाशाखा प्रमुख थिए । तत्कालीन महानिर्देशक माधवप्रसाद आचार्यलाई सामान्य मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएपछि विभाग रिक्त थियो ।
त्यस्तै, मध्यपश्चिमाञ्चल वन निर्देशनालय, सुर्खेतका प्रमुख ऋषिराम त्रिपाठीलाई पश्चिमाञ्चल वन तालिम केन्द्र पोखरा सरुवा गरिएको छ । उनको ठाउँमा डा. विश्वनाथ ओलीलाई पदस्थापना गरिएको छ । पश्चिमाञ्चल वन निर्देशनालय पोखराका प्रमुख रेशमबहादुर डाँगीलाई वन विभाग सरुवा गरिएको छ ।



