नेपालका सरकारी तथा निजी अस्पतालबाट बर्सेनि एक हजार ७०० जना भन्दा बढीको मुटुको शल्यक्रिया हुने

पोखरा –  नेपालका सरकारी तथा निजी अस्पतालबाट बर्सेनि एक हजार ७०० जना भन्दा बढीको मुटुको शल्यक्रिया हुने गरिएको छ ।


तीमध्ये सहिद गङ्गालाल हृदय केन्द्रमा  एक हजार ३००, मनमोहन मेमोरियल अस्पतालमा २००, वीर अस्पतालमा १०० तथा निजीतर्फ नर्भिक अस्पतालमा ५० र मेडिकेयर अस्पतालमा ५० जनाको मुटुको शल्यक्रिया गर्ने गरिन्छ ।
नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले हालसम्म १० हजार मुटु रोगीको  सफल शल्यक्रिया गरिसक्नुभएको छ ।


उहाँंले २६ जना गरिब र असहाय मुटुरोगीको निःशुल्क उपचार गर्नुभएको जयन्ती स्मृति प्रतिष्ठानको आयोजना तथा पद्म नरसिंहहोम हृदय सेवा विभागको प्राविधिक सहयोगमा  सञ्चालित कार्यक्रममा जानकारी दिइयो ।


कार्यक्रममा अमेरिकाको  कोलोराडो विश्वविद्यालयका प्रा  डा फ्रीड ग्रोभर, डा रोब क्वाईफ र नेपालका मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले मुटुरोगको शल्यक्रिया प्रक्रिया, शल्यक्रियापछि  नवजीवन प्राप्त मानिसहरूको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।


उहाँहरूले मुटुरोग निकै खर्चिलो, समयमै उपचार हुन नसके ज्यान समेत जान सक्ने भएकोले मानिसहरूले मुटुलाई सधै स्वस्थ राख्न, खानपिन र बानी व्यहोरामा ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।


पूर्व राजदूत डा सिंहबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा  नारायण गौतम, प्रतिष्ठानका सचिव सिर्जना रानाले  मुटुरोगबाट बच्न प्रतिष्ठानले समयसमयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।