काठमाडौँ – निर्वाचन आयोगले नागरिकताको प्रमाणपत्र बिना पनि मतदाता परिचय पत्र वितरण गर्न गत कात्तिक २६ गते गरेको निर्णयप्रति आपत्ति जनाउँदै १० साना दलले संयुक्त आन्दोलन उठाउन आह्वान गरेका छन्।
नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा एकीकृत क्रान्तिकारी, चुरेभावर राष्ट्रिय पार्टी, नेपाली जनता दल, नेकपा मार्क्सवादी, नेकपा संयुक्त मार्क्सवादी र नेकपा माले समाजवादीको हिजो बसेको बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो।
ती पार्टीद्वारा आज जारी संयुक्त वक्तव्यमा २०६२/६३ मा जन्मका आधारमा वितरण गरिएको नागरिकतामा पनि व्यापक गैर नेपाली परेको भन्दै गैर नेपालीलाई दिएको नागरिकता खारेज गर्नुपर्ने माग गरिएको छ।
नागरिकताबिना मतदाता परिचय दिने आयोगको निर्णयलाई राष्ट्रघाती भन्दै राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा व्यापक संयुक्त आन्दोलन उठाउन ती दलहरुले सबै देशभक्त राजनीतिक पार्टी र आम जनतालाई आह्वान गरेको छ।