काठमाडौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले रगत पसिना बगाएर ल्याएको उपलब्धी खोस्नका लागि प्रतिक्रान्तिकारीहरुले षड्यन्त्र गरिरहेको बताउँदै यो क्रम जारी रहेमा विश्वविद्यालयहरु ब्यारेकमा परिणत हुनसक्ने चेतावनी दिनुभएको छ ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीको १८ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको रक्षाका लागि युवा र विद्यार्थीहरु फौजीकृत रुपमा आउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सम्मेलनमा एकीकृत रुपमा प्रस्तुत भएर नयाँ नेतृत्व छान्न पनि विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष प्रचण्डले एमाओवादीभित्र फुट ल्याउने षड्यन्त्रस्वरुप धेरै प्रयास भए पनि गोरखाको पालुङटार बैठक वैचारिकरुपमा ठूलो बहसका साथ पार्टी एक ढिक्का भएर अघि बढेको बताउनुभयो ।
आफ्नो पार्टीको पालुङटार बैठक राष्ट्रिय राजनीतिक जटिलताको अन्त्य गर्न सफल भएको उहाँले बताउनुभयो ।
मुलुक अत्यन्त गम्भीर मोडमा जान लागेकोतर्फ इङ्गित गर्दै अध्यक्ष प्रचण्डले राजनैतिक तथा देशमा देखिएका तमाम विकृति, विसङ्गतिविरुद्ध उत्रनका लागि सम्मेलन नयाँ सन्देश लिएर आउने विश्वास व्यक्त गर्नुभयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले नेपालमा गणतन्त्रको स्थापनाका लागि नेपाली विद्यार्थीहरूले खेलेको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्दै विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउनुपर्ने खाँचो औंल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपलकुपति प्राडा माधवप्रसाद शर्माले शिक्षा क्षेत्रमा विद्यमान समस्याको अन्त्यका लागि विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा विदुर पौडेलले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी सङ्गठन र विश्वविद्यालय प्रशासनबीचको समन्वयात्मक भूमिकाले विश्वासको वातावरण निर्माण गर्ने बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले नयाँ नेपाल निर्माणका लागि शैक्षिक क्षेत्रको पुनःसंरचना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका कार्यबाहक अध्यक्ष गणेशराज भट्टले मुलुकको संयुक्त विद्यार्थी आन्दोलनलाई शैक्षिक विकृति र विसङ्गतिका विरुद्धमा उठाएर शिक्षा क्षेत्रका अन्यौल हटाउनुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु (पाँचौं)का अध्यक्ष भास्कर काफ्ले, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डल, नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनका अध्यक्ष हिरण्य जोशी, अखिल एकीकृतका प्रतिनिधि अर्जुन कार्की, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीलगायतले सम्मेलन सफलताको कामना गर्नुभयो ।
चारदिने सो सम्मेलनमा मुलुकभरका एकहजार ८१८ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
कार्यक्रममा भारत, बङ्गलादेश, ग्रीस, टर्की, नर्वे, अष्ट्रेलिया भुटानलगायत देशका विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिसमेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।