बैतडी – बैतडीको दशरथ चन्द नगरापलिका- ११ खडेनीको बुरकिल नजिकै महाकाली नदी पार गर्ने क्रममा ट्युव पल्टिदा सवार दुई जना बेपत्ता भएका छन् भने कपिलवस्तुको मोतिपुर गाविस वडा नं ९ मोर्मिमा ट्रयाक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
भारतको बल्तडीबाट महाकाली नदिमा ट्युब तरेर नेपाल आउने क्रममा शनिबार बेलुकी ५.३० बजेतिर नदीको बीचमा एक्कासी ट्युब पल्टिदा ट्युबमा रहेका ५/६ जना सवारमध्ये २ जना महाकालीमा पौडिन नसकेर बेपत्ता भएका हुन ।
बेपत्ता भएकाहरुको पहिचान हुन सकेको छैन । प्रत्यक्षदर्शी गोविन्द बुडालका अनुसार तीनवटा ट्युबलाई एकमा मिलाएर आउने क्रममा नदीको बीच भागमा ट्युब पल्टेपछि दुई जना नदीमा खसेका थिए । धेरै बेरसम्म पौडी खेल्दा पनि नदी किनार आउन नसकेपछि उनीहरु बेपत्ता भएका हुन । घटनाको निजकै रहेको बाराकोट प्रहरी चौकीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु
कपिलवस्तु। कपिलवस्तुको मोतिपुर गाविस वडा नं ९ मोर्मिमा ट्रयाक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
लु१त ९०८१ नंको ट्रयाक्टरले बाटोमा हिँडिरहेका १५ वर्षीय शिवलाल पाण्डेलाई ठक्कर दिएपछि उपचारका क्रममा बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले चालक र ट्रयाक्टर इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।