नेपालमा रहेका भुटानी शरणार्थीको पुनर्वास कार्यक्रमअन्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान

काठमाडौ – नेपालमा रहेका भुटानी शरणार्थीको पुनर्वास कार्यक्रमअन्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरेको नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय -युएनएचसिआर)ले जनाएको छ ।


भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम सन् २००७ नोभेम्बरबाट सुरु भएको थियो ।


युएनएचसिआर र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन -आइओएम)द्वारा आइओएम ट्रान्जिट सेन्टरमा आज आयोजित कार्यक्रममा नेपालबाट ४० हजार शरणार्थी प्रस्थान गरेको घोषणा गरियो ।


संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ र बहुसंख्यक भुटानी शरणार्थीको नयाँ घर बनेको युएनएचसिआरले जनाएको छ ।


त्यस्तै, क्यानडामा दुईहजार ३३३, अष्ट्रेलियामा दुईहजार १६८, न्युजिल्याण्डमा ४९८, नर्वेमा ३७३, डेनमार्कमा ३२६, नेदरल्यान्ड्समा २२९ र बेलायतमा १११ शरणार्थी पुनस्र्थापित भएका छन् ।


युएनएचसिआरका नेपालस्थित प्रतिनिधि स्टेफेन ज्याकमेटले शरणार्थी पुनस्र्थापना कार्यक्रम अत्यन्त उत्साहजनक उपलब्धि रहेको बताउनुभएको छ ।


पुनर्वास प्रक्रियाको शुरुमा पूर्वी नेपालको झापा र मोरङ जिल्लामा रहेका सातवटा शिविरमा एक लाख आठ हजार शरणार्थीहरू रहेका थिए ।


हाल शिविरहरूमा ७२ हजार ७३३ भुटानी शरणार्थीहरू बाँकी रहेका छन् । जसमध्ये करिब ५५ हजारले तेस्रोे देश पुनर्वासको लागि इच्छाको घोषणापत्र भरिसकेका र आगामी चार वर्षमा पुनर्वास हुने आशा गरिएको यूएनएचसीआरले जनाएको छ ।


पुनर्वासमा लिने देशहरूले शरणार्थीहरू स्वीकार्ने दर झण्डै ९९ प्रतिशत रहेको र यो विश्वव्यापीरुपमै अत्यन्त उच्च रहेको बताइएको छ ।


पूर्वी नेपालका सातवटा शरणार्थी शिविरमा २० वर्षदेखि दशौं हजार शरणार्थीले शरणागत जीवन व्यतित गरिरहेका छन् । उनीहरू भुटानमा भएको जातीय द्वन्द्वबाट भागेर नेपाल आइपुगेका हुन् ।


शरणार्थीको पीडाको दिगो तथा पूर्ण समाधानको लागि अन्य अन्तर्राष्ट्रिय समुदायसँगै आफ्नो प्रयास जारी राखिनेछ भन्दै युएनएचसिआरले उपयुक्त समयमा स्वेच्छिक घरफिर्ति कार्यक्रममा समेत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।